नियम
ऋणपत्र खरीद गर्न पाउने सीमा

(१) बैङ्कले ऋणपत्र निष्काशन गर्दा ऋणपत्र खरीद गर्न पाउने देहायको सीमाको अधीनमा रही ऋणपत्र निष्काशन गर्नेछः–
(क) विकास ऋणपत्रको हकमा घटीमा पचास हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई पचास हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा ।
(ख) राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको हकमा घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा ।
(ग) विशेष ऋणपत्र र बैङ्कले नेपाल सरकारको स्वीकृति लिई ऋणपत्र भनी तोकिदिएको अन्य कुनै ऋणपत्रको हकमा समितिले
तोकिदिएको अङ्कमा ।
(घ) टेजरी बिलको हकमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजार रुपैयाले भाग गर्दा निशेष भाग जाने अङ्कमा वा समितिले तोकेको अङ्कमा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले नेपाल सरकारको स्वीकृति लिई ऋणपत्र खरीद गर्न पाउने रकमको सीमामा हेरफेर गर्न सक्नेछ ।
(३) कुनै व्यक्ति, फर्म, कम्पनी, सरकारी कार्यालय वा संगठित संस्थाले ऋणपत्र खरीद गर्नको लागि जम्मा गरेको रकमभन्दा कम्ती रकमको ऋणपत्र पाएमा वा कुनै ऋणपत्र नै नपाएमा निजले फिर्ता पाउनु पर्ने रकम ऋणपत्र निष्काशन भएको मितिले पन्ध्र दिनभित्र फिर्ता गर्नु पर्नेछ । यसरी फिर्ता गरिने रकममा ब्याज दिइने छैन ।